साझा यातायातले रात्रिकालीन सेवा (नाइट सर्भिस) सुरु गरेको छ । पहिलो चरणमा साझाका तीन वटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट–चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।
गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए । अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौं,’ उनले भने– ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौं, केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’
साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये ४ वटा बस भने लामो दुरीमा सञ्चालन हुन्छन् र बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित रहेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।