सत्ताधारी नेकपाले यसअघि गरिएको जिल्ला कमिटीका पदाधिकारी चयनकै मापदण्डका आधारमा जिल्ला इन्चार्ज–सहइन्चार्जको भागबन्डा गर्ने भएको छ । नेकपाले साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज–सहइन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी गरेको हो ।
यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ । अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जहरूको कार्यविभाजनका लागि तयार पारेको प्रस्तावमा नेपालले असहमति जनाई दोहोरो जिम्मेवारी दिनु नहुने पक्षमा अडान लिएपछि साविक कमिटीकै इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज बनाउने गरी समझदारी जुटेको हो ।
तर, यसको औपचारिक निर्णय भने वरिष्ठ नेता नेपाल स्वदेश फर्केसँगै बस्ने सचिवालय बैठकबाट लिइनेछ । नेता नेपाल श्रीलंका भ्रमणमा छन् । अहिले समझदारी जुटाइएको विधिका आधारमा कार्यविभाजन गर्दा जनप्रतिनिधि वा अन्य जिम्मेवारीमा रहेका केन्द्रीय नेता पनि पार्टीको जिल्ला इन्चार्ज–सहइन्चार्जको जिम्मेवारीमा आउन सक्नेछन् ।
वरिष्ठ नेता नेपालसँग बसेर कार्यविभाजनको मापदण्ड र विधि तय भएपछि तत्कालीन एमाले र माओवादीका नेताहरूलाई जिल्ला इन्चार्जको भागबन्डा के–कसरी गर्ने भन्नेमा पनि अध्यक्षद्वयबीच मोटामोटी छलफल भएको छ । यसो गर्दा ७७ जिल्लामध्ये जिल्ला कमिटीका पदाधिकारी चयनकै संख्याको हाराहारी हुने गरी जिल्ला इन्चार्जको पनि भागबन्डा हुने गरी समझदारी नजिक पुगेको नेताहरूको भनाइ रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।