विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे सरकारी निकायले आफूलाई ‘अनभिज्ञ’ राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएकोबारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
‘मलाई पछि मात्र थाहा भयो र त्यस सम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ, मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर, २३ गते बेलुका मात्र पत्र आएकोबारे मैले जानकारी पाएँ । त्यसबाट म अत्यन्त दुखित छु’– जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधबार भने ।
विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै उनले अगाडि भने– ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो । एउटा यथार्थ मबाट लुकेको रहेछ ।’
यतिबेला चरम विवादित बनेको भारतीय तरकारी र फलफूल विषादी परीक्षणविनै नेपाल भित्र्याउन दिइने सरकारी निर्णय र त्यसबारे प्रधानमन्त्रीको जवाफसम्बन्धी यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।