बुधबार मध्यरातमा नवजात (१३ दिने) शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तब हल्लीखल्ली मच्चियो ।
त्यसको ३ घन्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमा–बुबाको जिम्मा लगाएको छ । सुनसरी भोक्राहा नर्सिङ– १ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसूति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अस्पतालमै राखिएको थियो ।
बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो ।
बिउँझँदा बच्चा नदेखेपछि बबिताले रोईकराई गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएको खबर रत्नप्रसाद आचार्यको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।