‘६० प्रतिशत काम गरेर १०० प्रतिशतको मूल्यांकन हुँदैन’ भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षामा यसरी असन्तुष्टि व्यक्त गरेका हुन् ।
सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ, प्रशासकहरूले योजना समन्वय, निर्देशन र कार्यान्वयन गराउने विषयमा गम्भीरतापूर्वक ध्यान पुर्याउनुहोस्’– प्रधानमन्त्रीले ओलीले भने ।
सरकारका मन्त्री वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुनु नहुने बताउँदै रिपोर्टहरूलाई पुष्टि नगरी विश्वास गर्नु नहुने धारणा ओलीले व्यक्त गरेका थिए । ‘रिपोर्ट सुनेर वास्तविकता के छ– पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन्– हेर्नोस्’– मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भनेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।