श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थकेन्द्रित बनेको भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।
‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाउने, होस्ट सरकार (श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले भने मैले नियमित पठाउने प्रतिवेदन समेतको उत्तर नदिने भएपछि यहाँ पद ओगटेर जनताको कर सकेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरलले टेलिफोनमा भने– ‘सरकार अर्थात् राजनीतिक नेतृत्वप्रति कुनै गुनासो छैन तर कूटनीतिक सेवामा आएका कर्मचारीलाई यसरी नै छाड्ने हो भने उनीहरूले मुलुकलाई भड्खारोमा पार्छन् । उनीहरू कुनै पनि विषयमा कत्ति पनि गम्भीर छैनन् ।’
राजदूत प्याकुरेललाई ‘पुनर्विचार गर्न’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पटक–पटक आग्रह गरेका थिए । परराष्ट्र सचिव शंकारदास बैरागीले भने यस विषयमा केही बताउन नचाहेको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।