नदी अतिक्रमण र अव्यवस्थित बसोवासका कारण राजधानी उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौं, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।
गतवर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले एक अर्ब रुपैयाँ क्षति पुगेको थियो । शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय समेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष समेत जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।
बाढी खोलामा यसरी पस्नुका पछाडि भने मानवसिर्जित समस्या नै मुख्य रहेको विज्ञहरूले दाबी गरेका छन् । खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको विपदविद् मधुकर उपाध्यायले बताएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।