प्रेसजगतले आफूलाई ‘खेदो खनेको’ विश्लेषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्– ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिँडिरहेको तस्बिरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि पछिल्लो पटक प्रधानमन्त्री ओलीले सो ‘दुःखेसो’ पोखेका हुन् ।
‘मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ त्यसले नै त्यो खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ,’ सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्छन्– ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता गर्यो, त्यसलाई कसरी नराम्रो भन्ने ?’ रेग्मीले प्रश्न गरे– ‘बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ तर निहित स्वार्थका लागि वा व्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।’
प्रधानमन्त्रीले उठाएको ‘मिसन पत्रकारिता’ को बहसमाथिको प्रतिक्रिया जोडिएको यो खबर कपिल काफ्लेको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।