सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ वटा भवन बनाउन लागिएको हो ।
यही आवास क्षेत्रभित्र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ । १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेशप्रमुख, मुख्यमन्त्री, राष्ट्रियसभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीहरूका लागि २४, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछन् । प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा प्रवेशद्वार सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए ।
भवनहरू परम्परागत नेपाली शैलीमा बनाइनेछन् । आवासका लागि छुट्याइएको कूल क्षेत्रफलमध्ये करिव १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सात आना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीन आना छुट्याइएको छ । साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारी साधन अटाउने पार्किङ बनाइने खबर मुना कुँवरको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।