पोखरा– १५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल उनी हराएको २५ दिनपछि फेला पर्यो । ‘श्रीमती हराएको’ निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले नै पुम्दीभुम्दीको वनमा श्रीमतीको कंकाल देखाएका थिए ।
प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो– सालीसँगको हिमचिम । पोखराको रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै रमेशले मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमतीले हरेक बिहान श्रीमानलाई पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन ।
लक्ष्मीका मामाकी छोरी अनु परियारसँग केही समयदेखि रमेशको हिमचिम रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको माइती पक्षले बयान दिएको खबर दीपक परियारको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।