एक साताअघि परेको अविरल वर्षाले पर्सामा जनधनको ठूलो क्षति भयो । पहिले कहिल्यै डुबानममा नपरेको वीरगञ्ज यसपालि डुब्यो । एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका कारण दुई वर्षयता वीरगञ्ज डुबानको समस्या भोग्न बाध्य भएको छ ।
डुबानबाट निकास पाउन निर्माण गरिएको आयोजना सम्पन्न भएपछि नै वीरगञ्ज सहर डुबानमा पर्न थालेपछि मुख्य बजार क्षेत्रका व्यवसायी नै आक्रोशित भएका छन् । ७२ घन्टा अविरल पानी परेपछि वीरगञ्जको मुख्य बजारक्षेत्र आदर्शनगर डुबानमा परेर त्यहाँका सबै पसल सटरमा पानी पसी करोडौंको नोक्सानि भएको व्यापारीको गुनासो छ ।
आयोजनाको गलत डिजाइनका कारण पाँच दिनसम्म परेको वर्षाले वीरगञ्ज सहर डुबानमा परेको भन्दै आयोजनको सर्वत्र आलोचना भएका बेला आयोजना प्रमुख इन्जिनियर शैलेन्द्र श्रेष्ठले भने आयोजनाको दोषबाट उम्किन सिर्सिया नदीका कारण वीरगञ्ज डुबानमा परेको बताएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।