अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन प्रा.डा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।
आयोगका अनुसार पक्राउ परेकामध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् । एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको छ ।
सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहअन्तर्गतका निकायमा हुने गरेको तथ्यांक पनि अख्तियारले सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा २६ प्रतिशत भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय र स्थानीय तहअन्तर्गतका निकायसँग केन्द्रित रहेको अख्तियारले जनाएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।