कम्युनिस्ट नामधारी सरकारद्वारा ‘प्रतिबन्ध’ लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ज्यादै कडा रवैया अपनाइरहेको छ ।
प्रहरीले सो पार्टीका नेता–कार्यकर्तालाई कुनै पनि गतिविधि गर्न दिइरहेको छैन र जहाँ–जुन अवस्थामा भेटे पनि तत्काल पक्राउ गर्ने वा ‘इन्काउन्टर’ का नाममा सोझै हत्या समेत गर्दै आएको छ । सरकार र प्रहरीका तर्फबाट यतिसारो ‘उत्पात’ मच्चाइरहँदा पनि प्रहरीले भने उल्टै ‘विप्लव समूहले चन्दा आतंक मच्चाइरहेको’ कोकोहोलो मच्चाइरहेको छ ।
विप्लव नेकपाले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज बरामद गरेको दावी प्रहरीले गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था र विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना बरामद गरेको दावी प्रहरीले गरेको हो ।
सो पार्टीका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको प्रहरीको दावी छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । ‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्ने गरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ’– एसएसपी सहकुल थापाले भनेको खबर मातृका दाहालको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।