नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ ।
थपिएका ८ वटा विमानस्थलको नाम भने तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनिया पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्दु र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको हो ।
वाइडबडीको अभाव र वायुसेवाको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनिया आकाशमा फेरो लगाउन पाएका छैनन् । यसैबीच, चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने हालको संख्यालाई बढाएर ९८ पुर्याइएको छ । दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडानभन्दा बढी गर्न पाउने छैनन् ।
एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने खबर लक्ष्मी लम्साल र सुरज कुँवरको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।