शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव (पीए) उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् ।
पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आएका ढकाललाई प्रदेश– २ स्थित धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर, प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएका कर्मचारीलाई संघीय सरकारले सरुवा गर्न नमिल्ने भए पनि उपसचिव ढकालले उक्त नगरपालिकाबाट आफू सरुवा प्रक्रियामा रहेको दावी गर्दै त्यहाँ जान इन्कार गरेको समाचार स्रोतको भनाइ छ ।
उपसचिव ढकाल काममा नगएकाले उक्त नगरपालिकाले नगराइन माविका प्रधानाध्यापक देवेन्द्रकुमार कर्णलाई शिक्षा शाखा हेर्ने जिम्मेवारी दिएको छ, जवकि शिक्षकलाई नगरपालिकाको कुनै पनि पदीय जिम्मेवारी दिन मिल्दैन । अटेर उपसचिवका कारण नगरपालिकाको शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको बताउँदै मेयर प्रमेश्वर यादवले भने– ‘ढकालजीको नाम सुनेको छु तर कहाँ छन्, थाहा छैन । उनलाई काममा पठाइदिन मन्त्रालयका सचिवलाई भनेका छौं, हालसम्म केही जवाफ पाएका छैनौं ।’
मन्त्रीका पीएको यो हदको अटेरीका कारण जननिर्वाचित मेयरले आँखामा आँसु नै निकाल्नुपर्ने अवस्थासम्बन्धी यो खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।