सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गएको कार्यविभाजन अर्थात् जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा जुटेका छन् ।
सचिवालयको बैठक नै स्थगित गरेर अध्यक्षद्वय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभागहरु र आयोगहरुको नेतृत्व गर्न जिम्मेवारी दिने विषयमा दुवै पूर्वघटकबीच भागबण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्रको विवाद तन्कँदै गैरहेको छ ।
स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउन सकेको थिएन । दुई नेताबीच विवाद बढेपछि पार्टीभित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद टुंगो लगाउनका लागि आइतबार अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास वालुवाटारमा दुई पटक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
आइतबार सचिवालयको बैठक बोलाइए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अस्वस्थ्य भएको भन्दै स्थगित गरिएको थियो । तर, आइतबार नै प्रधानमन्त्री ओली बिहान सोल्टी होटलमा भएको एउटा कार्यक्रममा सहभागी भएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।