देशका विभन्न स्थान र तहमा रिक्त रहेका ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलहरूबीच सहमति भएको छ ।
बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुक्त हुने सुझाव दिए । यही सुझाव र सहमतिका आधारमा आयोगले सरकारसँग परामर्श गरेर चाँडै नै निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।
आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान छ । सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दल सहभागी भए । आयोगको विवरणअनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की– ३ मा उपचुनाव गराउनु पर्नेछ ।
कास्की– ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खालि भएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।