देशकै सबैभन्दा ठूलो र सरकार समेत हाँकिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई ‘चलायमान’ बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा सरकार सञ्चालनमा समेत त्यसको असर परेको नेताहरुको गुनासो छ ।
पार्टी चलायमान हुन नसक्दा सरकारले गरेका राम्रा कार्य समेत जनतासमक्ष सञ्चार हुन सकेका छैनन् । सबै संयन्त्र निर्माण भएर स्पष्ट दिशा लिन नसक्दा कार्यकर्ताहरुले सरकारका कार्यहरुको खुलेर प्रशंसा समेत गर्न सकेका छैनन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई निर्माण भएको नेकपामा पार्टीका नियमित कार्यक्रम नै हुन छाडेका छन् ।
त्यसैगरी, पार्टीभित्र सांगठनिक एकीकरणका सम्बन्धमा व्यापक छलफल पनि हुने गरेको छैन भने बैठक पनि नियमित रुपमा हुन छाडेको खबर सुभाष साहको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।