बुद्ध एयरको एटीआर विमान नेपालगञ्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तर–पश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो ।
जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला मच्चियो ।
१३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए– सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट, जो पूर्वराज्यमन्त्री समेत हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस भएको खबर सुरज कुँवरको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।