नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कल प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धि–सम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ ।
सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा अध्ययन भइरहेको सरकारले जनाएको छ । राष्ट्रिय महत्त्वको दस्तावेजका विषयमा समितिले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग जानकारी लिएको थियो । समितिमा मन्त्रीले पनि ती महत्त्वपूर्ण दस्तावेजबारे स्पष्ट जवाफ दिन सकेनन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्तावेज आउन नसकेको परराष्ट्रमन्त्री ज्ञवालीले शंका गरे ।
यी सन्धि–सम्झौताका विषयमा सरकारले अध्ययन गरिरहेको मन्त्री ज्ञवालीले बताए । ‘सुगौली सन्धि, १९५० र १९६५ का सम्झौताका हामीसँग भएका प्रति सक्कली होइन भन्ने प्रश्न आइरहेका छन्, यस विषयमा पहिले हामीसँग भएका दस्तावेज अध्ययन गर्नुपर्छ,’ मन्त्री ज्ञवालीले भने– ‘हामीले बेलायतस्थित नेपाली दूतावासबाट त्यहाँको लाइब्रेरीमा भएको नेपालसँग जोडिएका महत्त्वपूर्ण सामग्री खोज्न भनेका छौं र कोलकाताको पुस्तकालयमा पनि त्यस्ता दस्तावेज छन् भने खोज्न भनेका छौं ।’
ऐतिहासिक दस्तावेजहरुको खोजीनीतिसम्बन्धी यो खबर चिरञ्जीवी घिमिरेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।