पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ शुक्रबार (साउन २४ मा) थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।
उनको यो भ्रमण पारिवारिक रहेको निर्मलनिवास स्रोतले जनाएको छ । कतिपय प्रतिगमनकारी तत्त्व एवं अराजनीतिक व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालबाट ‘राजा फर्कने’ अफवाह चलाइरहेका बेला उनी थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्र त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको बताइएको छ ।
पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी– पूर्णिका र कीर्तिकासँगै बुधबारै थाइल्याण्ड गएकी छन् । अधिकांश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् । दसैंको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो ।
करिव तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्रले थाइल्याण्डलाई ‘ट्रान्जिट’ बनाएर विभिन्न मुलुकको भ्रमण गर्ने तयारी गरेको खबर ईश्वरराज ढकालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।