वीरगञ्ज महानगरपालिकास्थित १ बिघा ९ कट्ठा १० धुर सार्वजनिक जग्गा (गौचरन) लाई व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।
महानगरपालिकाको वडा नम्बर २२, जगरनाथपुरस्थित परवानीपुर–आईसीपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोकिएको हो ।
वीरगञ्ज औद्योगिक क्षेत्र नजिक रहेको परवानीपुर–आईसीपी बाइपास सडक खण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूलबाटो छेउमा सो जग्गा छ । जगरनाथपुर क्षेत्रमा कट्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन् । यस आधारमा करिव २३ करोड ६० लाखसम्म मूल्य पर्ने सो जग्गा मास्के परिवारले आफ्नो नाममा बनाउन खोजेको स्थानीयले बताएको खबर रितेश त्रिपाठीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।