सत्ताधारी नेकपाभित्र अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको छैन ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा नेकपाका अध्यक्षद्वय (ओली–प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ, जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन सकिरहेको छैन । ‘अध्यक्षद्वयबीच एक–अर्कालाई अहिले विश्वास नगरी धरै पनि देखिन्न । संशयपूर्ण ढंगले अध्यक्षद्वयले एक–अर्कालाई विश्वास गरिरहेको अवस्था अहिले छ,’ पोखरेल भन्छन्– ‘विश्वास छ भनेर बाहिर देखाउनु पनि जरुरी छ, एक–अर्काको भूमिकाप्रति एक–अर्कामै संशय छ र संशयपूर्ण विश्वासको अवस्थामा ओली–प्रचण्ड सम्बन्ध देखिन्छ ।’
दुई नेताकै सम्बन्धका कारण नेकपा एकता बेला–बेला गज्मजिँदै आइरहेको छ । त्यही विश्वासको वातावरण बन्न नसक्दा अहिले पार्टी स्कुलिङ विभागको नेतृत्व नेताहरूकै बीच जुँगाको लडाइँ बन्न पुगिरहेको छ । यो अवस्थाले वरिष्ठ नेता माधवकुमार नेपाल त झन् दुवै अध्यक्षसँग सशंकित बन्नु स्वाभाविकै भएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।