विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोट आएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘लक्षित गर्दै’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उनी जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमतिविना विभिन्न कार्यक्रम उदघाटन र सम्बोधन गरेको भन्दै विप्लव नेकपाले दिनदिनै बम विस्फोट गराउँदै उनलाई आफ्नो ‘प्रमुख निशाना’ मा राखेको हो ।
बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गर्दै गर्दा विप्लव नेकपाले दुई वटा बम विस्फोट गरायो । कार्यक्रमस्थलको दुई सय मिटर नजिकै बम विस्फोट गराइएको हो ।
गाउँसभा सम्पन्न गरी आफ्नो गृहगाउँमा बास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई ‘लक्षित गरी’ विप्लव नेकपाले रास्कोटको कृषि जेटीए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गराएको छ । यसभन्दा पहिले पनि जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन गर्न आएका शाहीलाई ‘लक्षित गरी’ विप्लव नेकपाले बम विस्फोट गराएको थियो ।
त्यसभन्दा पहिले पनि सो पार्टीले कतै कालो झन्डा प्रदर्शन त कतै बम विस्फोट गराउँदै आइरहेको छ । मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव नेकपाले अहिलेसम्म तीन पटक बम विस्फोट गराएको छ भने एक पटक कालो झन्डा देखाएको खबर विश्वनाथ सिम्खडाको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।