जनताबाट चुनिएका ‘जनप्रतिनिधि’ सँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् । तर, सेवा र न्याय दिन्छु भन्नेबाटै आफ्ना मतदातामाथि नै हातपात भएपछिको अवस्था कस्तो होला ?
सिरहामा यस्तै भएको छ । आफूले बुझाएको नागरिकता फिर्ता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् । सिरहा नगरपालिका– १८, तारापट्टी, कुर्मीटोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूले कुटपिट गरेको हो ।
वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवा रायको सक्कल नागरिकता प्राणपत्र वडाअध्यक्षलाई जिम्मा दिइएको थियो । त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको खबर भरत जर्घामगरको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।