नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २१ मा निर्माण गरेको ‘कान्जी हाउस’ भित्र अहिले ४ सयदेखि ५ सयको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । उपमहानगरको मुख्य र भित्री सडकमा गरी झन्डै १ हजार ५ सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ ।
भारतबाट भित्रिएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । घाँस र पानी नपाउँदा गाईवस्तु मर्ने क्रम पनि चलिरहेको छ । ‘कान्जी हाउस’ का गाईवस्तुले उचित स्याहार नपाएको भन्दै अधिकारकर्मी तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत उपमहानगरपालिकाको आलोचना गरिरहेका छन् ।
नेपालगञ्जमा व्याप्त छाडा गाईवस्तु व्यवस्थापन र संरक्षणको चिन्तासँगसँगै यो समस्यालाई राजनीतिक मुद्दा बनाउने प्रयास भइरहेको खबर अर्जुन ओलीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।