तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई सत्ताधारी नेकपा गठन भएको १५ महिनापछि सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ । एकताका क्रममा षड्यन्त्रपूर्ण ढंगले अपमान गरिएका भनिएका अर्का वरिष्ठ नेता झलनाथ खनालको भने वरियता उकासिएको छ ।
यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद झन् चुलिन पुगेको छ । आइतबार साँझ बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वय पछिको वरियता क्रममा खनाललाई ल्याइएको हो ।
पार्टी एकीकरणसँगै खनाल नेपालभन्दा पछाडिको रोलक्रममा थिए । नेता नेपालले अघि सारेको ‘एक व्यक्ति एक पद’ का साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि बैठकले अस्वीकार गरेको छ । पछिल्लो पटक सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त गठबन्धनले नेपाललाई एक्ल्याएको छ ।
खनालले आफ्नो वरियता मिचिएको भन्दै त्यसलाई सच्याउन र गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्षत्रयलाई ‘अन्याय’ भएको तर्क गर्दै उनीहरूलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए । एउटै महाधिवेशनबाट निर्वाचित कोहीलाई पदैपद, कोहीलाई सचिवालयमा समेत ल्याउन आनाकानी गरेको भन्दै नेता नेपालले नेतात्रय अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए ।
‘नेता नेपालले शुक्रबारकै बैठकमा यो प्रस्ताव गर्नुभएको हो, यसबारे आइतबारको बैठकमा पनि छलफल भयो’– सचिवालयका एक सदस्यले भने । तर, उनको सो प्रस्तावलाई अस्वीकार गरिएको ती सदस्यले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।