सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ ।
नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेला–बेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो ।
बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ । सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन् । अर्का नेता रामबहादुर थापा ‘बादल’ ले ओली–दाहाल एकतामै जोड गरेका छन् । नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ ।
‘पार्टीभित्रको शक्तिकेन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ । पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखापरेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने– ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोसँग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ ।’
सत्ताधारी पार्टीमा देखा परेको नयाँ समीकरणबारेको यो खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।