चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौं–भक्तपुरको मुख्य प्रवेशविन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ ।
यो जामले सबैलाई हैरान पारेको छ । अरनिको राजमार्ग भएर राजधानी आउने–जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने–जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ ।
चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीं रोकेर ओराल्ने र चढाउने व्यवस्था छ । तर, त्यसमा समस्या बीसको उन्नाईस भएको छैन । यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो । तर, केही दिनयता ‘पिक एन्ड ड्रप’ बाट पनि जाम घटाउन नसकिएको ट्राफिक प्रहरीको भनाइ रहेको खबर देवबहादुर कुँवरको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।