दुग्ध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मूल्य बढाउन माग गरेको हो ।
तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो । आफूहरुको उत्पादन लागतमा तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यवृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग रहेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।