दुई हजार रुपैयाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ ।
दुवैविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । सजाय माग गरिएका ट्राफिकहरुमा ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ छन् । सवारी साधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने ट्रिपरबाट घुसवापत उनीहरू दुवैले दुई हजार रुपियाँ लिएको दावी आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले गरे ।
अनुसन्धानका क्रममा बानियाँबाट आयोगको टोलीले २ हजार ९ सय रुपैयाँका विभिन्न कम्पनीका रिचार्ज कार्ड र मानन्धरबाट घुस वापतको रुपैयाँसहित १ हजार २ सय रुपैयाँ बराबरका रिचार्ज कार्ड बरामद गरिएको उनले बताएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।