भारतीय गुप्तचर संस्था ‘र’ का पूर्व विशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न तत्कालीन माओवादीलाई भन्दा भारतलाई बढी हतार थियो ।
राजतन्त्र फाल्ने कुरामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मनाउन भुषणलाई निकै हम्मे परेको थियो । प्रचण्ड भारतीय गुप्तचारसँग मिलेर गणतन्त्रको मिसनमा लाग्न इच्छुक थिएनन् । भूषणको पुस्तक ‘इन्साइड नेपाल’ मा प्रचण्डसँगको पहिलो भेटमा आफूले भनेका कुरा उनले यसरी व्यक्त गरेका छन्–
‘म वास्तवमा नेपालबाट राजा फ्याँक्ने काममा तपाईंको मद्धत माग्न आएको हुँ ।’
आश्चर्य मान्दै प्रचण्ड सोध्छन्– ‘किन ?’
‘सत्य घटनामा आधारित’ भनिए पनि पुस्तकमा पात्रका नाम भने परिवर्तित छन् । घटना र परिस्थित हेरेर भने तिनलाई अनुमान लगाउन सकिन्छ । जस्तो– कमल अर्याल अर्थात् पुष्पमकल दाहाल, जीवनाथन अर्थात् अमर आफैं ।
जीव– अचेल नेपालका राजा निकै नृशंस हुँदै गएका छन् । उनले शाही सेना र प्रहरीमार्फत दमन गर्न सुरू गरेका छन् । उनले पञ्चायती व्यवस्थाका व्यक्ति र आफूप्रति वफादारमार्फत शासन चलाउन थालेका छन् । तपाईंलाई दाशको व्यवहार गरेका छन् । प्रजातन्त्र संस्थागत हुन दिएका छैनन् ।
अर्याल– यसबारे हामी सचेत छौं र विशेष योजना बनाएका छौं । हामीले भूमिगत सेना बनाएका छौं । त्यसले सरकारी सेना ध्वस्त पार्नेछ । राजा पछि हट्नेछन् । तपाईंसँग सहकार्य गर्नुपर्ने आवश्यकता देख्दिनँ ।
जीव– तपाईंले यसका लागि निश्चित समयबद्ध योजना बनाएको मलाई थाहा छैन । तपाईंले राजतन्त्र उन्मूलन गर्ने कठिन काममा एक्लै अघि बढ्नुभयो भने वर्षौं लाग्नेछ । मलाइ लाग्छ, रोमानियाका शासक चाउचेस्कुलाई जस्तै गरी राजालाई सिध्याउन मन छ भने तपाईंले राष्ट्रवादी शक्ति र मूलधारका दलसँग सहकार्य गर्नु जरूरी छ ।
अर्याल– हामीले नेपाली कांग्रेससँग पहिल्यै सम्पर्क गरिसकेका छौं । यद्यपि राजा मास्ने विषयमा भने हामी ऊसँग सशंकित छौं । त्यहाँ अवसरवादी छन् । उनीहरूले राजाबाट फाइदा लिइरहेका छन् । उनीहरूले राजाविनाको प्रजातन्त्र सोच्दैनन् ।
नेपालमा राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने सम्बन्धमा तत्कालीन ‘र’ निर्देशक र माओवादी अध्यक्षबीचको संवाद भन्दै नयाँदिल्लीबाट आशा थपलियाको बाइलाइनमा यो खबर खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।