भूकम्पले भत्काएको चार वर्षपछि पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले अहिले भने गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्ल्याब उठाउने कार्य पनि सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीका अनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो । सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्रयाक्टर रिप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जानकारी दिए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७.५ प्रतिशत प्रगति भएको छ ।
धराहरा पुनर्निर्माणअन्तर्गत सुन्धाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको खबर टेनिस रोकाको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।