अघिल्लो आर्थिक वर्ष २०७५–७६ भर करिव २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकामा यस वर्षको असारसम्म यस्तो संख्या ४ करोड १३ लाख ९३ हजार पुगेको छ ।
यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको संख्या सबैभन्दा धेरै बढेको छ । तथ्याङ्कअनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन् । अघिल्लो आ.व. को सुरुआतमा २ करोड २ लाख ५० हजार ग्राहक रहेकामा असारसम्म २ करोड २६ लाख ९६ हजार पुगेका छन् । मोबाइल बाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
त्यस्तै, मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने १ वर्षमा केवल ६८ हजार ६ सय मात्र थप भएका छन् । एनसेलका प्रयोगकर्ता १ करोड ६६ लाख ३७ हजार पुगेका छन्, जुन गतवर्ष साउनमा १ करोड ६५ लाख ६८ हजार थिए ।
दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा १ लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन् । यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता छैनन् । पहुँचका हिसाबले अहिले जनसंख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।