बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्त्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको समेत आफ्ना सांसदहरुसँग प्रधानमन्त्रीको गुनासो छ ।
प्रतिपक्षी कांग्रेसलगायत ‘पुनरुत्थानवादी’ शक्तिले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सत्तापक्षकै सांसदहरू सशक्त रूपमा नउभिएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो गरेका हुन् । शनिबार राजधानीमा बसेको नेकपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही महत्त्वपूर्ण विधेयक र प्रस्ताव आफ्नै सांसदहरूको ‘असहयोगी भूमिका’ का कारण पारित हुन नसकेको भन्दै असन्तुष्टि जनाएको एक सांसदले बताए ।
अमेरिकाले अगाडि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ प्रस्ताव संसदबाट अनुमोदन नभएकामा समेत प्रधानमन्त्रीले गुनासो गरेको नेकपाका एक सांसदले बताएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।