सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) बीच बृहत् अन्तर्क्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ मा राजधानीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले दिएका छन् ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग र सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने जानकारी उपप्रमुख पौडेलले दिए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाका तर्फबाट बेग्लाबेग्लै कार्यपत्रहरू प्रस्तुत हुने छन् । नेता पौडेलले भने– ‘प्रतिनिधिहरूले आ–आफ्ना पार्टीका कुरा अदान–प्रदान गर्ने कार्यक्रम छ ।’ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी छ ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्नेछन् भने कार्यक्रमको अध्यक्षता स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नेछन् । अन्तर्क्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको खबर सुरेशकुमार यादवको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।