चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकावासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिएर मात्रै हिँड्न सुरक्षा निकायले अनुरोध गरेको छ । आफूसँग बहुमूल्य सामग्री भए त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन उपत्यकाका तीनै वटा प्रहरी कार्यालयले जनतालाई अनुरोध गरेका छन् ।
उपत्यकाका तीनै वटा प्रहरी परिसरले सार्वजनिक गरेको चाडबाडलक्षित सुरक्षा योजना अनुसार कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन प्रहरीले आग्रह गरेको छ । ‘हामीले चाडबाडलक्षित सुरक्षाअन्तर्गत बैंक, वित्तीय संस्था, सपिङ मल, धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं’– सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले नेपाल भने ।
काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेका छन् । तीनै वटा परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएका छन् । विशेष गरी थानकोट र फर्पिङ नाकामा सो व्यवस्था गरेको जानकारी काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले दिएको खबर ईश्वरराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।