नेकपाका २९ जना मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रिया समेत उनीहरूले सिकिरहेका छन् ।
‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीन जना गाउँपालिकाका अध्यक्ष छन् । युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् ।
कक्षा बिहान र अपराह्न गरी दैनिक दुई चरणमा हुने गरेको खबर शम्भु कट्टेलको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।