थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माणको सम्झौता भएको हो ।
ललितपुरस्थित महाशाखाको कार्यालयमा सोमबार विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवर्द्धन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको हो । सम्झौतासँगै मुलुककै पहिलो सुरुङमार्गको निर्माण सुनिश्चित भएको हो । दुईवटा फ्लाईओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र बनिसक्ने छ ।
करसहित करिव १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणको सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो । सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको हो ।
यसैगरी, सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । शून्य दशमलव ०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको खबर भउचप्रसाद यादवको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।