गुठी संस्थानको संरचना र कार्यशैलीमा परिवर्तन आउन नसक्दा गुठीको सम्पत्ति संरक्षणमा चुनौती थपिँदै गएको छ । गुठी परम्परा सञ्चालन र चल–अचल सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले ५६ वर्षअघि स्थापना भएको संस्थानले उद्देश्यअनुरूप काम गर्न नसक्दा गुठीमाथि नै प्रश्न सिर्जना हुन पुगेको हो ।
संस्थानले गुठीका सम्पत्ति संरक्षण र अभिलेख व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा संस्थानको कार्यशैली र औचित्यतामाथि प्रश्न उठेको छ । गुठी जग्गा अतिक्रमण न्यूनीकरण गर्नु नै गुठी संरक्षणको मुख्य चुनौती रहेको संस्थानका प्रशासक नारायण चौधरी बताउँछन् । ‘अतिक्रमणमा परे पनि अतिक्रमणबारे सूचना न्यून मात्रामा आउँछन्, कर्मचारीको अभावमा सबै स्थानको जानकारी पाउन सकिँदैन’– चौधरीले भने ।
निजी गुठीका सम्बन्धमा अधिकार नपाउनु र कर्मचारीको अभाव हुनु अर्को समस्या रहेको उनको भनाइ छ । मुलुक संघीय संरचनामा गएको चार वर्षसम्म पनि कर्मचारीको पदपूर्ति हुन नसकेको प्रशासक चौधरी दाबी गर्छन् । यसैकारण झन्डै ६० प्रतिशत कर्मचारीको अभाव रहेको उनले बताए ।
तर, भएका कर्मचारीबाटै प्रभावकारी कार्यसम्पादन हुन नसकेको सरोकारवालाको भनाइ रहेको खबर केशवप्रसाद पाण्डेको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।