नेपाली कांग्रेस सप्तरीले मंगलबार आयोजना गरेको जागरण अभियान अन्तर्गतको कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदलाई जिल्ला सभापति पक्षधरहरुले मञ्चबाटै धक्का दिएर लडाइदिएका छन् ।
क्षेत्र– ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मञ्चबाटै धक्का दिएर लडाएपछि एक समूहले कार्यक्रम बहिष्कार गर्दै उनीविरुद्ध चर्को नारावाजीसहित प्रदर्शन र विरोधसभा गरेका छन् । कार्यक्रम सुरु हुने बेलामा आफूलाई मर्यांदाक्रम मिचेर मञ्चमा आसन ग्रहणका लागि बोलाइएको भन्दै आक्रोशित बनेका सांसद चौधरीले मञ्चमै सभापति यादवसमक्ष आपत्ति प्रकट गरेका थिए ।
आफू कांग्रेसबाट जिल्लाको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य भए पनि गाउँ र नगरपालिकाका पदाधिकारीभन्दा पनि पछाडि आसनग्रहका लागि बोलाइएको भन्दै सांसद चौधरी आक्रोशित बनेका थिए । यही कुरा कडा रुपमा सभापति यादवसमक्ष मञ्चमा राख्दै गर्दा सभापति पक्षका केही व्यक्तिले धक्का दिएर मञ्चबाट तल लडाइदिएको सांसद चौधरीले बताए ।
घटनापछि आक्रोशित सांसद चौधरीसहित पूर्वसभासद रञ्जित कर्ण, कांग्रेस नेता रामदेव साहलगायतको नेतृत्वमा एक समूहले कार्यक्रम बहिष्कार गरी सभापति यादवविरुद्ध चर्को नारावाजी गर्दै नेता चोकमा पुगेर विरोधसभा गरेका छन् ।
उक्त विरोधसभामा बोल्दै सांसद चौधरीले मञ्चमा सभापाति यादव पक्षधरले आफूमाथि गरेको दुर्व्यवहारको कडा भर्त्सना गर्दै सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीको केन्द्रीय समितिले कारबाही गर्नुपर्ने माग गरेको खबर एमके माझीको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।