नेपाललाई भारतको राजधानी नयाँदिल्लीसहित कोलकातालगायतका प्रमुख भारतीय सहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन ।
गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेलसेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले अब मंसिरदेखि भने पक्कै रेल चल्ने बताएका छन् ।
‘रेल सेवा सुचारु गर्न कम्तिमा दुई सय कर्मचारी चाहिन्छन् तर कर्मचारी छैनन्,’ महानिर्देशक मिश्रले भने– ‘कर्मचारी भर्ना प्रक्रिया र रेलको इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ तर अब ढिलो हुँदैन, मंसिरमध्यसम्ममा रेल चल्छ ।’
रेल–खबरसम्बन्धी पछिल्लो ‘अपडेट’ दिइएको यो समाचार गोविन्द महतोको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।