गाडी नचढी मान्छेको दैनिकी चल्छ कि चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठोजस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् ।
पहिले पाएनन्– खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । उनीहरु पाँच दशकभन्दा बढी खालि खुट्टै हिँडे, त्यसैमा बानी परे । अहिले जुत्ता लगाएर हिँड्न गाह्रो मान्दछन् । ती वृद्ध भन्छन्– ‘पहिले जुत्ता–चप्पल किन्न सकेनौं, अहिले लगाएर हिँड्न जान्दैनौं ।’
कालिकोट, रोल्पा, दाङ र धनकुटामा भेटिएका जुत्ता–जप्पल नलगाउनेहरुका दैनिकी अहिलेका पुस्ताले हेर्दा–सुन्दा अपत्यारिला छन् । सन्नीत्रिवेणी– ३, लुयाटा, कालिकोटकी बुदी देवकोटा भैंसी दुहुन्छिन्, घाँस काट्नेसँगै घरधन्दाका काम गर्छिन् । हिँडडुल भने खालि खुट्टै गर्छिन् । जिल्लामा ‘चारबीस’ अर्थात् ८० वर्ष पार गर्ने थोरै जेष्ठ नागरिकमध्ये उनी पनि हुन् ।
देवकोटाका खुट्टा पटपटी फुटेका छन् तैपनि उनलाई जुत्ता–चप्पल लगाउन मन लाग्दैन । ‘पहिले पाइएन, अब मर्ने बेला के लगाउनु,’ उनले भनिन्– ‘जुत्ता–चप्पल लगाएर हिँड्नै जान्दैन, लोटीहाल्छु (लडिहाल्छु) ।’ नेपाली जनजीवन र दैनिकीको यो एउटा पाटोसम्बन्धी खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।