आफूहरुले नेपाल कुनै पनि मुलुकको पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको अमेरिकाले स्पष्ट पारेको छ ।
कसैको पक्ष–विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत र्यान्डी बेरीले भने– ‘योभन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’
बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, सांसद, उद्यमी र सञ्चारकर्मीमाझ भने– ‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं । नेपालका कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’
नेपाल–चीन निकटताबारे व्यापक चर्चा चलिरहेको र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तयारी गरिरहेको सन्दर्भमा आएको अमेरिकी राजदूतको भनाइसम्बन्धी यो खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।