उपनिर्वाचनका लागि २१ दलले चुनाव चिह्न पाएसँगै चुनावी माहोल तातिएको छ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दर्ता भएका दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो ।
संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो । नयाँ दर्ता भएका दलहरूमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टीलगायत रहेका छन् ।
नयाँ दर्ता भएका अरु दलमा संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत पनि छन् ।
राजनीतिक दलहरूले आयोगमा दल दर्ताका लागि पेस गरेका निवेदनबमोजिम दल दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको हो । एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिह्न प्रयोग गर्ने भएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।