बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेकिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्ट्रेलियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्ट्रेलियन डलर पठाए ।
अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो । त्यसपछि सिस्टम ह्याक गरेर उक्त रकम ठगी गर्यो । इमेल ह्याक गरी ठगी गर्ने व्यक्ति थिए– नाइजेरियाका डोग्लास अमोवी ओको इजवे र जुलिअस फेस्टस चिजेक्व । नेपाल भ्रमणमा रहेका नाइजेरियन व्यक्तिले नै गेस्टहाउसलाई तिर्न ह्याक गरेर पैसा चोरी गरेको प्रहरी अनुसन्धानपछि खुल्यो ।
काठमाडौं इजी ट्रेन्ड नामक गैरकानुनी वेबसाइट चलाउँदै आएका १५ जना भारतीयको समूहले नेटवर्किङ व्यवसाय राम्रो छ भन्दै रकम लुट्दै आएको भनी अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी पर्यो । सो समूहले नेटवर्किङ व्यवसाय गर्ने नाममा विभिन्न व्यक्तिसँग लाखौं रकम असुलेको उजुरीमा उल्लेख थियो ।
उजुरीका आधारमा प्रहरीले १५ जनाको सो समूहलाई वैशाख २७ मा याक एन्ड यति होटलबाट पक्राउ गर्यो । उनीहरूमाथि अनुसन्धान चलिरहेको खबर शिवहरि घिमिरेको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।