दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । दसैंमा २५ लाख बाहिरिने अनुमान सरकारले गरेको छ । एक साताको अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।
एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले बताए । २४ घन्टाको विवरणअनुसार बुधबार १ लाख ५७ हजार बाहिरिए भने ६६ हजार भित्रिए ।
दसैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकामा भित्रिने पनि उति नै रहेकाले त्यो संख्यामा केही कमी हुन सक्ने प्रवक्ता पौडेलले औंल्याए । उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको छ । सामान्यतयाः दैनिक ६० हजार उपत्यका भित्रिने र ६० हजार सर्वसाधारण बाहिरिने गरेका छन् ।
२६ असोजमा सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । टिकट काउन्टरहरुमा दिनहुँ दसैं मान्न घर जाने यात्रुको भीड लाग्ने गरेको छ । कतिपय ठाउँमा १६, १७ र १८ असोजका लागि टिकट नै नपाइएको गुनासो सर्वसाधारणले गरेको खबर टेनिस रोकाको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।