नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सी–पथ’ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेकपा ‘सी–पथ’ मा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि उनले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने प्रधानमन्त्रीले बताए । नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने– ‘हिजो मेरो कुरा सुन्नुभयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलें भन्दैमा उनकै विचार लागू हुन्छ त ?’
प्रधानमन्त्री ओलीले थपे– ‘हाम्रो आफ्नै विचार छ, बौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन्; हामीले कसैको कुरा बुझ्न खोज्यौं भन्दैमा त्यसैको विचार अँगाल्ने भन्ने हुँदैन ।’ नेपाल र चीनका आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि उनले बताए ।
चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रित रहने ओलीले बताए । सरकारले छिमेकीसँगको सन्बन्धलाई उच्च प्राथमिकतामा साथ अघि बढाउन चाहेको पनि सो क्रममा उनले बताएको खबर शुक्रबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।