नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौं महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा, सियान, लान्जाओ र छेन्दु सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले चीनको कुनमिङ गोन्जाओ, यिविन, लिन्जी, छुसाओ र हाइकाओ नानिङ सहरसँग सम्बन्ध स्थापित गरेको छ । त्यसैगरी, बुटवल उपमहानगरपालिकाले सिमान, ललितपुर महानगरपालिकाको गोन्जाओ, भक्तपुरले छेन्दु र बनेपा नगरपालिकाले सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको शनिबार हुने नेपाललको राजकीय भ्रमणले उक्त नगरपालिकासँग भएको भगिनी सम्बन्ध थप प्रगाढ हुने स्थानीय तहका जनप्रतिनिधिले विश्वास गरेका छन् । दुई देशका नगरबीचको सहरी पूर्वाधार, विकास निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्ने गरी भगिनी सम्बन्ध कायम गरिएको खबर नगेन्द्र सापकोटाको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।