त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयनकर्मीका लागि सूचनायुक्त नोट सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
विमानस्थलका एक अधिकारीका अनुसार २ घन्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ, त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी भारतको चेन्नईबाट काठमाडौं आउँदै छन् । उनको सवारीमा एयर चाइनाका दुईवटा बोइङ ७४७ विमान काठमाडौं आउँदै छन् ।
विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जाहाज पार्किङ गर्न सकिने स्थान ओगट्नेछन् । ९ वटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्ने खबर मात्रिका दाहालको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।